काठमाडौं । डिफेन्डिङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा करियरले प्रतियोगितामा पहिलो पटक सहभागी कौस्तुभलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बन्यो । निर्धारित ७० मिनेटको खेल गोलरहित तथा थप गरिएको १२ मिनेट १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगितामा उपाधिसंगै करियरले ३० हजार नगद पुरस्कार हात पार्यो भने कौस्तुभले २० हजार नगद प्राप्त गर्यो । तेश्रो भएको गोठाटारले १० हजार नगद पायो ।
प्रतियोगितामा करियरका सुजन भट्टराई उत्कृष्ट खेलाडी घोषित भए भने गोठाटारका अनिश तामाङ उदीयमान खेलाडी चुनिए । डिफेन्समा कौस्तुभका लक्ष्मण गुरुङ, मिडफिल्डमा कौस्तुभकै विवस मगर, गोलरक्षकमा न्यु स्टार पोलका प्रेम तामाङ र प्रशिक्षकमा करियर सविन खड्का उत्कृष्ट ठहरिए ।
समापनका अवसरमा प्रशिक्षक सविनलाई सम्मान पनि गरिएको थियो । फेका कपको विभिन्न तीन संस्करण न्यु स्टार पोलबाट खेलेका सविन हाल सरस्वती क्लबबाट ‘ए’ डिभिजन लिग फुटबल खेलिरहेका छन् । फेका कप नै खेलेका रेफ्री हरिश कार्कीलाई पनि सम्मान गरिएको थियो ।
कौस्तुभका रविन बम सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । उनले जम्मा ५ गोल गरे ।
विजेतालाई केन्द्रीय प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जन, फेकाका अध्यक्ष नवराज भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २० गतेदेखि सुरु नकआउट प्रतियोगितामा २२ टिम सहभागी थिए ।