काठमाडौं । नेपाली फुटबलमा चिरप्रतिद्वन्दी क्लब हुन्, रुस्लान थ्री स्टार र सिग्नेचर मनाङ मर्स्याङ्दी ।
घरेलु फुटबलमा दुई क्लब भिड्दाँ मैदानमा देखिने रौनकता र माहोल विरलै देख्न पाईन्छ । पाँच बर्षपछि फर्किएको घरेलु लिगमा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धामा छन् । लिग तालिकामा मनाङ अघि अघि अनि थ्री स्टार पछि पछि देखिएको छ ।
लिगको तेस्रो चरणमा थ्रीस्टार र मनाङ आमनेसामने भए । कतिले खेललाई स्पेनिस ‘एल क्लासिको’को संज्ञा दिए । कतिले थ्री स्टारसंग जोडिएको रुस्लान र मनाङसंग जोडिएको सिग्नेचरको भिडन्तको रुपमा अर्थ लगाए ।
तर एक अर्थमा त्यो भिडन्त थियो, दुई दाजु भाईको ।
अन्जन विष्ट र रन्जन विष्टको ।
जसले चीरप्रतिद्वन्दी क्लबको आक्रमण लाईन समाल्ने गर्छन् । घरेलु फुटबलका दुई महारथी क्लबलाई उपाधि दिलाउने जिम्मेवारी यिनै दुई दाजु भाईको काँधमा छ ।
रन्जन दाजु हुन्, अन्जन भाई । दुईको अन्तर तीन बर्षको छ ।
रन्जनले थ्री स्टारबाट खेल्छन्, अन्जन मनाङको मुख्य हतियार हुन् । लिगमा थ्री स्टार भन्दा मनाङ तीन अंकले माथि छ । कारण, लिगको तेस्रो खेलमा मनाङले थ्री स्टारलाई हराएको थियो । अन्जनलेनै दाजुको क्लब थ्री स्टारमाथि पहिलो गोल गरेको थिए ।
कुनै समय दुवै दाजु भाई एकै क्लबमा खेल्थे । विभागीय टिम एपीएफमा ३ बर्ष बिताएका उनीहरुले घरेलु फुटबलमा कान्छो विभागीय टिमलाई स्थापित गराउन प्रयास गरे । दाजु भाईकै प्रेरणादायी प्रर्दशनमा एपीएफले सातौ राष्ट्रिय खेलकुदमा पुरुष फुटबलमा स्वर्णनै जित्यो ।
जब दुई दाजु भाई एपीएफमा थिए, नेपाली फुटबलमा ठुला महारथी क्लबका लागि एपीएफ चुनौती बन्थ्यो । दाजु भाईले क्लब के छाडे, एपीएफको प्रर्दशन साच्चिकै ओरालो लागेको छ । कान्छो विभागीय टिमलाई अहिले गोलको खडेरी छ ।
हरेक खेलाडीको सपना हुन्छ, ठुलो क्लबबाट खेल्ने । नाम कमाउने, दाम जोड्ने अनि उपाधि जित्ने । आम फुटबलर जस्तै विष्ट दाजुको सपना कसरी फरक हुन सक्थ्यो र ?
त्यसपछि दुवै दाजु भाई विभागीय जागिर छाड्दै व्यवासीयक क्लब फुटबलमा हाम फाल्ने निर्णय गरे । रन्जन एपीएफको जागिरे थिए । तर पाँच बर्षको जागिर बिट मार्दै उनी बाहिर निस्कने भए ।
‘हाम्रो सँगै खेल्ने सपना थियो, जागिरले गर्दा सँगै निस्कन पाएनौँ ।’ रन्जन भन्छन् ।
अन्जनले ६ महिना अगाडीनै एपीएफ छाडे अनि मनाङसंग आबद्व भए । दाई अलि ढिला हुन पुगे, सोही कारण दाजु भाईको संगै लिग खेल्ने सपना यो पटक पुरा हुन पाएन ।
अन्जनको फुटबल कथा
सानो छँदा रन्जन फुटबल खेलेर घर आउने गर्थे, जर्सी लाएर ।
त्यही जर्सीमा हो भाई अन्जनको मन लोभिएको । दाईले लगाएको जर्सी देखेर उनलाई पनि फुटबल खेल्ने रहर जागेको। त्यसपछि उनी दाजुको पछाडी लागेर मैदान पुग्न थाले । दाजुको खेल्दै गर्दा अन्जन समेत फुटबलमा लोभिन पुगे । अनि अठोट र प्रतिज्ञा लिए, दाजु जस्तै खेलेर अगाडी बढ्ने ।
एन्फा छनोटको टोली हेटौडा पुग्यो, अन्जन छानिए । हेटौडाबाट सुरु भएको फुटबल करियरलाई अन्जनले कहिल्यै पछाडी फर्केर हेर्न परेन । उमेर समुह हुँदै राष्ट्रिय टिमसम्म उनले आफुलाई स्थापित गराए ।
एन्फाबाट यु –१६ र यू–१९ खेलेका अन्जन एकेडेमीबाट फुकुवा भए । अन्जनलाई फुटबल खेल्ने क्लबको खाँचो थिएन । दाई रन्जनले उनलाई विभागीय टिममा जोडे । करारमा बस्ने ब्यवस्था मिलाए । दाजुसंग मिलेर अन्जनले ३ बर्ष एपीएफमा बिताए । राष्ट्रिय लिग खेले । चोटका कारण उनले जम्मा दुई म्याच खेले । दुई गोल गर्न सफल भए । दाजुसंगै उनले राष्ट्रिय खेलकुदमा स्वर्ण जिते र मोफसलका नकआउट उपाधि समेत हात पारे ।
एपीएफसंग करार अवधि सकिने अवस्थामा थियो । अन्जनको मन विभाग बाहिरको क्लबमा थियो । उनलाई ठुला क्लबबाट खेल्ने, उपाधि जित्ने सपना पुरा गर्न थियो । राम्रो प्रस्तावको पर्खाईमा रहेका अन्जनलाई मनाङबाट फोन आयो ।
प्रस्ताव राम्रै थियो, उनले तत्काल स्विकार गरिदिए । उनी अहिले घरेलु फुटबलको सर्वाधिक सफल क्लबको मुख्य स्ट्राईकरको भुमिकामा छन् । मनाङ लिग च्याम्पियन बन्ने बाटोमा छ । अन्जनले उत्कृष्ट फर्म देखाईरहेका छन् । अन्जनकै प्रेरणादायी प्रर्दशनमा मनाङ लिग उपाधि यात्रामा लम्किरहेको छ ।
रन्जनको फुटबल यात्रा
रन्जनको फुटबल यात्रा भाई अन्जन भन्दा संघर्षमय छ । हेटौडामा फुटबल कर्म जारी थियो । राम्रो फुटबलर बन्ने लक्षण सानैमा देखिन थालेको थियो । एन्फा एकेडेमीमा छनोट भएपछि उनी काठमाडौं बोलाईए । ट्रायल दिए र छनोट भएनन् ।
जिल्लामै फुटबल अघि बढाए । ८ कक्षा पढ्दै गर्दा उनी दोस्रो पटक काठमाडौं आए, सी डिभिजन लिग खेल्न । नव ज्योति क्लबले उनलाई लिगमा अनुबन्धन गर्यो । प्रदीप महर्जनको प्रशिक्षणमा रहेको नवज्यातीबाट उनले उत्कृष्ट प्रर्दशन गरे । विभागीय टिम एपीएफको आखाँमा रन्जन परे ।
लगत्तै उनी एक बर्षको करारमा एपीएफमा अनुबन्धित भए । एपीएफबाट उनले राम्रा प्रर्दशन गरे । एपीएफले जागिरै दिने निर्णय गर्यो । देश सेवासंगै उनको फुटबल यात्रा सुरु भयो । पाँच बर्ष एपीएफको फुटबलमा उनले सेवा गरे । अनि उपदान लिदै उनले एपीएफ बसाई टुङ्गयाउने निर्णय गरे ।
ठुला क्लबबाट फुटबल खेल्ने थियो । ललितपुरे क्लब थ्री स्टारले उनलाई प्रस्ताव गर्यो । प्रशिक्षक मेघराज केसीको आखाँमा थिए उनी । कप्तान बिक्रम लामा र निराजन खड्का दोस्तीले उनलाई थ्री स्टारतिर लोभ्यायो । उपाधि यात्रामा रहेको थ्री स्टारले शीर्ष स्थानको मनाङमाथि निरन्तर दबाब बढाईरहेको छ । रन्जनले समेत थ्री स्टारको जर्सीमा निरन्तर गोल गरिरहेका छन् । लिगको सातौ चरणको खेल सकिदाँ उनको खातामा ४ गोल छ ।
दाजुभाईको सम्वन्ध
प्रतिस्पर्धी क्लबमा भएपनि बाहिर दुई दाजु भाईको सम्बन्ध सुमधुर छ । मैदानमा ९० मिनेट एक अर्काका प्रतिस्पर्धी हुन्छन्, बाहिर मिलनसार ।
‘आज जहाँ छु, त्यसको कारण दाईनै हो । दाई नभएको भए सायद फुटबलमा नहुन नि सक्थे ।’ अन्जन भन्छन् ।
रन्जन पनि व्यवसायीक फुटबलमा मैदानमा प्रतिस्पर्धी भएपनि ब्यक्तिगत जिवनमा कुनै रिस राग नहुने बताउछन् । ‘हामी एक अर्कालाई राम्रोसँग बुझ्छौँ । प्रतिस्पर्धी क्लबमा भएपनि खेलका नराम्रा कुरा सेयर गछौ । मैदानमा जस्तो देखिन्छ, बाहिर त्यसो हुदैन ।’ उनी भन्छन् ।
यता, मनाङबाट घरेलु फुटबलमा जमिरहेका अन्जनको देश बाहिरको लिग खेल्ने धोको छ । ‘मेरो सोच भनेको बाहिरि क्लबबाट खेल्ने हो । घरेलु लिग खेल्दै बाहिरको प्रक्रिया अघि बढाईरहेको छु ।’ उनी भन्छन् । मनाङको जर्सीमा पाँच गोल गरेका उनी सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् ।