एजेन्सी । विश्वकप फुटवलमा समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोयसियासँग पराजित भएपछि अर्जेन्टिनाको नकआउट चरण प्रवेशलाई लिएर अनेक प्रश्न उठेका छन् । कतिपयले अब अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त भइसकेको ठोकुवा समेत गरेका छन् । यद्यपी उसको दोस्रो चरण प्रवेशको सम्भावना अझै सकिएको भने छैन ।
अर्को चरणमा स्थान सुरक्षित गर्न अर्जेन्टिनालाई समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध जित निकाल्नु आवस्यक त छ नै त्यसवाहेक अन्य टोलीको नतिजा समेत पर्खनु पर्नेछ । अहिले अर्जेन्टिनाको जम्मा १ अंक छ । शिर्ष स्थानमा रहेको क्रोयसियाको ६ अंक छ भने आइसल्याण्डको पनि १ अंक छ । नाइजेरिया अंकविहिन अवस्थामा छ । यस्तो अवस्थामा अब के भयो भने अर्जेन्टिना दोस्रो चरण पुग्न सक्ला त ? यी हुन तीन सम्भावना ।
पहिलो सम्भावना
अर्जेन्टिनालाई दोस्रो चरण पुग्न शुक्रबार हुने नाइजेरिया र आइसल्याण्डबीचको खेल निकै महत्वपुर्ण छ । यो खेलमा नाइजेरियाले आइसल्याण्डलाई हराएमा अर्जेन्टिनाको आसा केही बढनेछ । पहिलो खेलमा पराजित भएको नाइजेरियाको आइसल्याण्डसँगको जितसँगै ३ अंक हुनेछ । आइसल्याण्डले क्रोयसियासँग पनि हार व्यहोरेमा अर्जेन्टिनाले नाइजेरियालाई हराउँदै नकआउट चरणमा स्थान सुरक्षित गर्न सक्नेछ ।
दोस्रो सम्भावना
नाइजेरिया र आइसल्याण्डबीचको खेल बराबरीमा सकिएपनि अर्जेन्टिनाको आसा जिवितै रहनेछ । खेल बराबरी भए आइसल्याण्डको २ अंक हुनेछ भने नाइजेरियाको १ । अर्को खेलमा क्रोयसियाले आइसल्याण्डलाई हराएमा अर्जेन्टिना नाइजेरियामाथि जित निकाल्दै ४ अंक सहित अर्को चरण पुग्न सक्नेछ । अथवा अन्तिम खेलमा क्रोयसियालाई आइसल्याण्डले बराबरीमा रोक्दा पनि अर्जेन्टिनाको संभावना कायमै रहनेछ ।
तेस्रो सम्भावना
यो सम्भावना भने निकै कठिन छ । यदि आइसल्याण्डले नाइजेरियालाई शुक्रबार पराजित गरेमा पनि अर्जेन्टिनाका लागि झिनो संभावना भने बाँकी रहनेछ । जितसँगै आइसल्याण्डको ४ अंक हुनेछ । अर्को खेलमा क्रोयसियासँग पराजित भए आइसल्याण्ड ४ अंकमा रोकिनेछ । यो अबस्थामा गोल अन्तरको महत्व हुनेछ । अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियाविरुद्ध ठुलो अन्तरको जित निकाल्नु आवस्यक हुनेछ ।
यी तीनवाहेक अन्य अवस्थामा अर्जेन्टिना विश्वकपको पहिलो चरणबाटै बाहिरिनेछ । आइसल्याण्डले आफ्ना बाँकी दुई मध्ये सबै जित वा एकमा बराबरी र एकमा जित निकाल्यो भने अर्जेन्टिनाको यात्रा समाप्त हुनेछ । त्यसैले अब अर्जेन्टिनाका समर्थकले आइसल्याण्डको पराजयको कामना गरेर बस्नुको विकल्प देखिदैन ।