एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'सी' रहेका डेनमार्क र अष्ट्रेलियाले बराबरी खेल्दै अंक बाडेका छन् । आज भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
समारा स्टेडियमा भएको खेलमा डेनमार्कले सुरुवाती अग्रता जोगाउन नसक्दा अष्ट्रेलियासँग बराबरी खेलेको हो । पहिलो हाफको सातौं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३८ औं मिनेटमा अष्ट्रेलियाका मिले जेडीनाकले पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए । डेनमार्कका खेलाडीले ह्यान्ड बल गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो ।
यो बराबरीसँगै डेनमार्कले दुई खेलबाट ४ अंक जोडेको छ । र, डेनमार्कको दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १ - ० ले हराएको थियो । अब डेनमार्कले अन्तिम खेलमा फ्रान्ससँग खेल्ने छ ।
यता, अष्ट्रेलियाको यो पहिलो अंक हो । १ अंक जोडेको अष्ट्रेलियाको पनि नकआउट चरण पुग्ने सम्भावना सकिएको छैन । पहिलो खेलमा फ्रान्ससँग पराजित अष्ट्रेलियाले अब पेरुसँग खेल्ने छ ।
यो समूहमा फ्रान्सको ३ अंक छ । फ्रान्सले आज पेरुसँग खेल्दै छ । उक्त खेल जिते फ्रान्सले नकआउट चरणमा स्थान बनाउने छ । यस्तोमा डेनमार्क, अष्ट्रेलिया र पेरुमध्ये एक टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।