काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयोजक नामिबियासँग पराजित भएको छ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बुधबार भएको खेलमा नेपाल ८६ रनले पराजित भयो ।
नामिबियाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४४ तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए ।
आरिफ शेखले १८ रन तथा ललित राजवंशीले ११ रन बनाए । आसिफ शेखले ७ रन बनाए ।
नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो ।
नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १९ रनको शतकीय ईनिङ खेले ।
कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए ।
नेपालका लागि ललित नारायन राजवंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिए । सागर ढकालले १ विकेट आफ्नो नाम गरे ।
नेपालले आफ्नो प्लेईङ-११ मा रहेका ३ जना बाहेक सबैबाट बलिङ गराएको थियो ।
यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । जितसँगै नामिबिया भने ३० खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
यस सिरिजमा नेपालको अन्तिम खेल बिहीबार स्कटल्याण्डविरुद्ध रहेको छ ।