काठमाडौं । घरेलु टोली बंगलादेशले भारत विरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ ।
दोस्रो एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशले भारतलाई ५ रनले पराजित गरि सिरिज २-० ले जितेको छ ।
शेरे बंगला नेशनल स्टेडियममा बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रन बनायो ।
भारतका लागि श्रेयस अय्यर र अक्षर पटेलले अर्धशतक बनाए । अय्यरले १ सय २ बलमा ८२ तथा पटेलले ५६ बलमा ५६ रन बनाए ।
कप्तान रोहित शर्माले २८ बलमा अविजित ५१ रन बनाए । के एल राहुल १४ तथा वासिङ्टन सुन्दर र दिपक चहर ११/११ रनमा आउट भए ।
घरेलु टोलीका लागि इबाडोट होसाइनले ३ तथा महेदी हसन र साकिव अल हसनले समान २/२ विकेट लिए । मुस्ताफिजुर रहमान र मेहमुदुल्लाहले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनाएको हो ।
घरेलु टोलीका लागि मेहेदी हसनले ८३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा अविजित १०० रनको शतकीय ईनिङ खेले । मेहमदुल्लाहले ९६ बलमा ७ चौकाको सहयोगमा ७७ रन बनाए।
नजमल हसन शान्तोले २१ तथा नसुम अहमदले अविजित १८ रन बनाए । मुस्फिकुर रहिमले १२ तथा अनामुल हकले ११ रन बनाए ।
भारतले १७ रन अतिरिक्तका स्वरुपमा खर्चियो । भ्रमणकारी टोलीका लागि वासिङ्टन सुन्दरले ३ तथा मोहम्मद सिराज र उमरान मल्लिकले समान २/२ विकेट लिए ।
तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोलीले १ विकेटको रोमान्चक जित हासिल गरेको छ । तेस्रो खेल आगामी शनिबार रहेको छ ।