काठमाडौं । च्यासल युथ क्लबका प्रशिक्षक राजुकाजी शाक्यले ए डिभिजन लिगको उपाधि सम्भावना सकिएको बताएका छन् । लिग चरणको पाँचौ खेलमा संकटा क्लबसंग पराजित भएसंगै च्यासलले आफ्नो उपाधि सम्भावना सकिएको बताएको हो ।
‘हाम्रो अग्रस्थानमा आउने सम्भावना सकियो । अरु क्लबको प्रर्दशन खोसेर हुदैन । अब हामी पाँचौ र छैटौ स्थानका लागि खेल्ने हो ।’ क्लबका प्रशिक्षक शाक्यले भने ।
उनले क्लबका स्टार खेलाडीले सोचेको जस्तो खेल्न नसक्दा अपेक्षित नतिजा निकाल्न नसकिएको स्विकार गरे । प्रशिक्षक शाक्यले स्ट्राईकर सन्तोष साहुखल राम्रो खेलाडी भएपनि उसलाई खेल्ने साथी नमिलेको बताए ।
पहिलो पटक ए डिभिजनमा बढुवा भएको च्यासलले उपाधिमा चुनौती दिने लक्ष्य सहित राम्रा खेलाडीलाई क्लबमा अनुबन्धन गरेको थियो ।
उसले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै ए डिभिजन लिगमा उत्रिएपनि क्लबका नाम चलेका खेलाडीले राम्रो प्रर्दशन गर्न सकेका छैनन् ।
विमल घर्तिमगर, देबेन्द्र तामाङ, हेमन्त थापा मगर जस्ता राष्ट्रिय टिमका खेलाडीले भरिएको च्यासलले खेलिएका ५ मध्य एक खेमला जित निकालेको छ ।