काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नामिबियामा जारी त्रिदेशीय सिरिजको आफ्नो तेस्रो एकदिवसीय खेलमा घरेलु टोलीले स्कटल्याण्डलाई हराएको छ ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा सोमबार भएको खेलमा स्कटल्याण्डलाई घरेलु टोली नामिबियाले ३ विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको २ सय ९ रनको लक्ष्य घरेलु टोलीले ४४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
घरेलु टोलीको जितमा जान निकोलले ९६ बलमा अविजित ६७ रनको अर्धशतकीय ईनिङ खेले । हेलाओ नफिदी या फ्रान्सले ५५ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेले ।
नामिबियालाई जित दिलाउन फ्रान्स र निकोलबीच आठौं विकेटका लागि ९९ रनको साझेदारी भएको थियो ।
जेजे स्मिथ २४ तथा कप्तान ग्रेहार्ड इरास्मस २० रनमा आउट भए । लोह्यान्ड्र लरेन्स १५ रनमा आउट भए ।
स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा ब्राण्डन म्याकमुलनले २ विकेट लिए । सफियान सरिफले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा अलआउट हुदै २ सय ८ रन बनायो ।
जर्ज मुन्सि र ब्राण्डन म्याकमुलनले अर्धशतक बनाए । म्याकमुलनले ५६ तथा मुन्सिले ५१ रन बनाए ।
कप्तान रिची वेरिङ्गटनले २० तथा म्याथ्यु क्रसले १७ रन बनाए ।
क्रिस सोल १५ तथा मिचेल लिग्स र सफियान सरिफ समान १४/१४ रनमा आउट भए ।
नामिबियाका रुबेन ट्रम्मपेलम्यानले ४ तथा तान्गेनी लुन्गामेनी र बर्नार्ड शोल्ट्जले समान २/२ विकेट लिए ।
जेजे स्मिथ र हेलाओ नफिदी या फ्रान्सले समान १/१ विकेट लिए ।

जितसँगै नामिबियाको २९ खेलमा ३५ अंक रहेको छ । नामिबिया अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
स्कटल्याण्डको भने ३१ खेलबाट ४४ अंक भएको छ । स्कटल्याण्ड अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
नेपाल २२ खेलमा १८ अंकका साथ सात राष्ट्र रहेको विश्वकप लिग टूमा छैठौं स्थानमा रहेको छ ।
नेपाल,स्कटल्याण्ड तथा घरेलु टोली नामिबिया रहेको यस सिरिजमा नेपालको तेस्रो खेल बुधबार नामिबियाविरुद्ध रहेको छ ।