काठमाडौं । पहिलो एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशलाई भारतले १ सय ८७ रनको लक्ष्य दिएको छ ।
शेरे बंगला नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४१.२ ओभरमा अलआउट हुँदै १ सय ८६ रन बनाएको हो ।
भारतका लागि केएल राहुलले ७० बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले ।
कप्तान रोहित शर्माले २७ रन जोड्दा श्रेयस अय्यरले २५ रन बनाए । वासिङ्टन सुन्दरले १९ रन बनाउँदा भारतका लागि ७ जना ब्याटरले दाहोरो अंकमा रन बनाउँन सकेनन् ।
बंगलादेशका लागि साकिव अल हसनले १० ओभरमा ३६ रन दिएर ५विकेट लिए । इबाडट होसाइनले ४ तथा मेहेदी हसनले १ विकेट लिए ।
तीन खेलको एकदिवसीय सिरिजका लागि भारतीय टोली बंगलादेश भ्रमणमा रहेको छ ।
