काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आईतबार दोस्रो खेल खेल्दैछ।
दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।
नेपाल र स्कटल्याण्ड नयाँ प्रतिद्वन्दी भने होईनन् । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा दुई पटक खेलेका छन् । १ खेलमा नेपाल र १ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।
एकदिवसीय अन्तराष्ट्रियमा नेपाल र स्कटल्याण्डको पहिलो भेट १३ जुलाई २०२२ मा भएको थियो । विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।
टस जितेर नेपालले पहिले फिल्डिङ राजे पछि पहिले ब्याटिङ गरेको घरेलु टोलीलाई नेपालले ४२.५ ओभरमा १ सय ४४ रनमा अलआउट गरेको थियो । खेलमा नेपालका तर्फबाट सोमपाल कामी र आदिल आलमले समान ३/३ तथा तत्कालिन कप्तान सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।
१ सय ४४ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ७१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । हालका कप्तान रोहित कुमार पौडेलले ३४ तथा कुशल भुर्तेलले २७ रन बनाएका थिए ।
स्कटल्याण्ड भएको सो सिरिजमा पुनः नेपाल र स्कटल्याण्डको भेट भएको थियो । ४ दिन पछि भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । टस हारेर नेपालले पहिले ब्याटिङ गरेकोमा ३५.५ ओभरमा १ सय २८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले ४० तथा तत्कालिन कप्तान सन्दीप लामिछानेले २२ रन बनाएका थिए । १ सय २८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । बलिङ तर्फ नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट लिएका थिए ।
स्कटल्याण्डसँगको २ एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालका लागि आसिफ शेखले १ सय ११ रनका साथ र्शीष स्थानमा रहेका छन् । बलिङ तर्फ सोमपाल कामीले ४ विकेटका साथ र्शीष स्थानमा रहेका छन् ।