काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय अन्तराष्ट्रिय नतिजा विहीन सकिएको छ ।
नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल नतिजा विहीन सकिएको हो ।
खेल नतिजा विहीन बनेसँगै दुबै टोलीले १/१ अंक पाएका छन् ।
नेपालले दिएको १ सय ९८ रनको लक्ष्यसहित नामिबियाले जवाफी ब्याटिङ गरिरहेका खेल वर्षाले रोकिएको थियो ।
वर्षाले खेल रोकिनु अघि नामिबियाले ४ बलमा ४ रन जोडेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ बनाएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो ।
यस्तै आरिफ शेखले २३ रन जोड्दा आसिफ शेखले २० रन जोडे । अर्जुन साउद र गुलशन झा समान १८ रनमा आउट भए ।
कुशल भुर्तेलले १३ रन जोडे भने सोमपाल कामी र कप्तान रोहित पौडेल १० रनमा आउट भए ।
दीपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सागर ढकाल १ रनमा आउट भए ।
नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए । कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए ।
सिरिजमा नेपाल २१ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
नामिबिया २८ खेलमा ३३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नेपालले अब आइतबार स्कटल्याण्डको सामना गर्नेछ ।