काठमाडौं । राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश अपराजित रहदै फाईनल पुगेको छ ।
समूह चरणको अन्तिम खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको छ ।
मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो ।
बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदुरपश्चिमल १९.१ ओभरमा पुरा गरेको हो ।
सुदुरपश्चिमको जितमा कप्तान अनुराग सिंहले ४४ बलमा ६ चौकाको सहयोगमा अविजित ३९ रन बनाए ।
मिलन बोहोराले ३३ तथा गजेन्द्र बोहोराले अविजित १९ रन बनाए । दिपक बोहोराले १७ रन तथा दीपक बोहोराले १० रन बनाए ।
बागमतीका लागि रोसन विकले २ तथा प्रतिक श्रेष्ठले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको हो ।
बागमतीका लागि प्रतिक श्रेष्ठले ५० बलमा ४४ रनको ईनिङ खेले। रोशन विकले अविजित ३६ तथा सक्षम बस्ताकोटीले ३३ रन बनाए ।
बागमतीका ७ खेलाडी डग आउट भए ।
बागमतीलाई कम रनमा रोक्न आकाश चन्दले ह्याट्रिक सहित ४ विकेट लिएका थिए ।
यस संस्करणको प्रतियोगितामा नै पहिलो ह्याट्रिक लिएका चन्दले ५.४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए ।
हेमन्त धामीले ३ तथा नरेन साउदले २ विकेट लिए । युवराज खत्रीको नाममा १ विकेट रह्यो ।
आजको खेलमा जित हात पारेको सुदुरपश्चिम अपराजित रहदै फाईनल पुगेको छ ।
पराजित बागमतीका लागि भने फाईनल पुग्न शनिबार हुने खेलमा लुम्बिनी पराजित हुन आवश्यक रहेको छ ।
सुदुरपश्चिम ६ खेलमा अपराजित रहदै १२ अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
बागमती भने ६ खेलमा ४ जित र २ हारका साथ ८ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।