काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डले नामिबियालाई हराएको छ ।
स्कटल्याण्डले बिहीबार घरेलु टोली नामिबियालाई ४ विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको २ सय १२ रनको लक्ष्य स्कटल्याण्डले ४२.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
स्कटल्याण्डको जितमा कायल कोट्जरले ४४ बलमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान रिची बेरिङ्टनले ३६ तथा क्रिष्टोफर म्याकब्रिडिले ३० रन बनाए ।
ब्रेन्डन म्याकमुलेनले अविजित ३१ रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान र जान निकोलले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले १ सय ३० बलमा अविजित ९६ रन बनाएका थिए । जेजे स्मिटले ३८ रन जोड्दा डिभान ला ककले २१ रन जोडेका थिए ।
बर्नार्ड शोल्ट्जले १३ तथा जानी ग्रिनले १२ रनको योगदान गरेका थिए ।
स्कटल्याण्डका लागि ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान ३/३ तथा मिचेल लिक्स र क्रिस सोलले समान १/१ विकेट लिए ।
जितसँगै स्कटल्याण्डको २९ खेलबाट ४२ अंक भएको छ । स्कटल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नामिबियाको भने २७ खेलमा २७ अंक रहेको छ । नामिबीया अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
नेपाल २० खेलमा १७ अंकका साथ सात राष्ट्र रहेको विश्वकप लिग टूमा छैठौं स्थानमा रहेको छ ।
नेपाल,स्कटल्याण्ड तथा घरेलु टोली नामिबीया रहेको यस सिरिजमा नेपालको पहिलो खेल शुक्रबार नामिबीयाविरुद्ध रहेको छ ।