काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले पाहुना टोली भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । तीन खेलको एकदिवसीय सिरिज घरेलु टोलीले १-० ले जितेको हो ।
बुधबारको अन्तिम र आईतबार भएको दोस्रो खेल वर्षाका कारण पुरा हुन नसकि रद्द भएको थियो । गत शुक्रबार भएको पहिलो एकदिवसिय खेलमा घरेलु टोली विजयी भएको थियो ।
आजको खेलमा भारतले दिएको २ सय २० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको घरेलु टोलीले १८ ओभरमा १ सय ४ रन बनाउँदा भारी वर्षा भएसँगै खेल रोकिएको थियो ।
वर्षा रोकिएर खेल पुनः सुचारु हुन नसके पछि खेल रद्द भएको हो । वर्षाले खेल रोकिनु अघि फिना एलेनले ५४ बलमा ५७ तथा डेभन कन्वेले ३८ रन बनाएका थिए ।
भारतका लागि उमरान मल्लिकले १ विकेट लिएका थिए ।
क्राईस्टचर्चमा त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ४७.३ ओभरमा अलआउट हुदै २ सय १९ रन जोडेको हो ।
पाहुना टोलीका लागि वासिङ्टन सुन्दरले ६४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
श्रेयस अय्यरले ४९ रन जोड्दा कप्तान शिखर धवनले २८ रन जोडे । शुभमन गिलले १३ तथा दिपक चहर र दिपक होडाले १२/१२ रन बनाए ।
रिषभ पन्तले १० रन जोड्दा भारतका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि ड्यारियल मिचेल र एडम मिल्नेले समान ३/३ तथा टिम साउदीले २ विकेट लिए ।