काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।
आफुले खेलेको चार खेलमा अपराजित रहेको बागमती पाचौं खेलमा लुम्बिनीसँग ८५ रनले पराजित भएको हो ।
जितका लागि लुम्बिनीले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको बागमती ३५.३ ओभरमा १ सय ४९ रनमा अलआउट भयो ।
बागमतीका लागि कप्तान अशोक पौडेलले ५४ बलमा ३१ रनको योगदान गरे । प्रतिक श्रेष्ठले २७ तथा रोशन विकले २३ रन बनाए ।
बागमतीलाई कम रनमा रोक्न लुम्बिनीका दुर्गेश गुप्ताले ५.३ ओभरमा १५ रन दिएर ४ विकेट लिए ।
अभिषेक गौतम र तुल बहादुर थापाले समान २/२ तथा नर शार्की र निर्मल गुरुङले समान १/१ विकेट लिए ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा अलआउट हुदै २ सय ३४ रन मात्र बनायो।
लुम्बिनीका लागि देव खनालले ५४ बलमा ४६ तथा आकाश त्रिपाटीले ७० बलमा ४० रन बनाए । दुर्गेश गुप्ताले २५ बलमा ३८ रन तथा तुल बहादुर थापाले २८ रन बनाए ।
विशाल भुषालले २० रन जोड्दा कप्तान विशाल बिक्रम केसीले ११ रन जोडे ।
बागमतीका लागि प्रतिक श्रेष्ठले ३ तथा अविशेक कोईराला र ओमकार यादवले समान २/२ विकेट लिए । अहमद राजा र योगेश भाटले समान १/१ रन बनाए ।
एक खेल अगावै फाईनल पुग्ने बागमतीले अवसर गुमाएको छ । पाँच खेलमा ८ अंकका साथ बागमती दोस्रो स्थानमा रहेको छ ।
जितसँगै लुम्बिनी प्रदेशलाई प्रतियोगितामा जीवित रहेको छ । अंक तालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनीको ४ खेलबाट ६ अंक भएको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।