काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
चौथो खेलमा जितको लय कायम राख्ने क्रममा बागमतीले कर्णाली प्रदेशलाई पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १ सय ३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
बागमतीको जितमा कप्तान अशोक पौडेलले ६४ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । लकि कडायतले ९२ बलमा अविजित ५१ रनको अर्धशतकी ईनिङ खेले ।
कर्णालीका लागि अनुज चुनारा,युनिश सिंह र आवास शाहले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा अलआउट हुदै १ सय ३० रन बनाएको हो ।
कर्णालीका लागि कप्तान विपीन रावलले ९२ बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । मनिश थापाले ३५ बलमा २५ रन जोड्दा अनिरुद्ध कवार ११ रनका आउट भए ।
कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका लागि सक्रिय कार्कीले ५ तथा अहमद राजाले ३ विकेट लिए । ओमकार यादव र अभिशेक कोईरालाले समान १/१ विकेट लिए ।
अपराजित बागमती आजको खेलमा जित हात पारेर ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा कायमै छ ।
बागमतीसँग पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।