काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले मधेश प्रदेशमाथी सहज जित हात पारेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशमाथी प्रदेश-१ ले १० विकेटको जित हात पारेको हो ।
खराब मौसमका कारण केही ढिला सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो ।
मधेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९.२ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । प्रदेश-१ को जितमा लागि सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ३१.३ ओभरमा अलआउट हुदै ७० रन बनाएको थियो । मधेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए ।
मधेशका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् ।
प्रदेश-१ का लागि विपीन महतो र कप्तान दिपेश कडेलले ३/३ तथा संदेश भट्टराईले २ विकेट लिए । आशिष मगर र आश्विन महतोले समान १/१ विकेट लिए ।
जितसँगै प्रदेश-१ ले फाईनल पुग्ने सम्भावना जिवित राखेको छ । प्रदेश-१ को ४ खेलबाट ४ अंक भएको छ ।
प्रदेश-१ सँग फराकिलो अन्तरले पराजित मधेशको फाईनल सम्भावना न्युन भएको छ ।
मधेश ३ खेलमा अंकबिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।