काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् । टियु मैदानमा हुने खेलमा बागमती प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
कर्णाली प्रदेश तीन खेलमा १ जित र २ हारका साथ २ अंकमा रहेर अंक तालिकाको चौथो स्थानमा रहेको छ । कर्णाली प्रदेश बागमतीलाई पराजित गरि तेस्रो स्थानमा उक्लन चाहान्छ ।
उता, बागमती चौथो जितको खोजीमा रहेको छ ।
तीन खेलमा नै अपराजित बागमती ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
मुलपानीमा हुने खेलमा मधेश प्रदेश र प्रदेश-१ को बीच खेल हुनेछ ।
मधेश २ खेलमा अंकबिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ । प्रदेश-१ का विरुद्ध जित निकालेर मधेश पहिलो अंक जोड्न चाहान्छ ।
आजको खेल जितेर प्रदेश-१ तेस्रो स्थानमा उक्लन चाहान्छ । दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।