काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश-१ लाई जितका लागि २ सय ६५ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले प्रदेश-१ लाई २ सय ६५ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६४ रन बनायो।
सुदुरपश्चिमका लागि कप्तान अनुर्ग सिंह र मिलन बोहोराले अर्धशतकीय ईनिङ खेले । कप्तान सिंहले १ सय १२ बलमा ८३ तथा बोहोराले ७६ बलमा ६४ रन बनाए ।
दिपक बोहोराले ३५ बलमा ३२ रन जोड्दा गजेन्द्र बोहोराले १६ बलमा २४ रन जोडे । आकाश चन्द १४ बलमा २० रनमा आउट भए ।
प्रदेश-१ का लागि अभिनय राजवंशीले ४ तथा कप्तान दिपेश कडेल र आशिष मगरले समान २/२ विकेट लिए ।
प्रदेश-१ दुई खेलमा १ जित र १ हारका साथ २ अंकमा रहेर अंक तालिकाको चौथो स्थानमा रहेको छ । प्रदेश-१ सुदुरलाई पराजित गरि तेस्रो स्थानमा उक्लन चाहान्छ ।
उता, सुदुरपश्चिम चौथो जितको खोजीमा रहेको छ ।
तीन खेलमा नै अपराजित सुदुरपश्चिम ६ अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।