काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ ।
तेस्रो जित हात पार्ने क्रममा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई १ सय १३ रनले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा १०० रन बनाउँदा अलआउट भयो ।
गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए । कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेंनीले १५ रन बनाए ।
सुदुरपश्चिमका लागि मिलन बोहोराले ६ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.३ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो।
सुदुरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुर्ग सिंहले ७१ बलमा ३७ रन बनाए ।
नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा सुनिल चन्द,हेमन्त धामी,गजेन्द्र बोहोराले समान १९/१९ रन बनाए । दिपक बोहोराले ११ मा आउट भए ।
गण्डकीका लागि कप्तान सुवास भण्डारीले ३ तथा सुदिप अर्याल, सचिनराज अधिकारी,अर्जुन कुमाल,सिब्रिन श्रेष्ठ,निर्तिश गिरि र शिशिर भुषालले समान १/१ विकेट लिएका थिए ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।