काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ ।
पहिलो जित हात पार्ने क्रममा कर्णालीले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले १ सय ३६ रनको लक्ष्य ३४.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।
कर्णालीका लागि मोहन विकले अविजित ३८ रन तथा मनिश थापाले ३२ रन बनाए । अनिरुद्ध कवारले १६ रन जोड्दा सुवास ऐरले १४ रन बनाए ।
मधेशका लागि रन्जित कुमारले ५ तथा अजित मण्डलले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४१.५ ओभरमा अलआउट हुदै १ सय ३५ रन बनाएको थियो । मधेशका लागि शैलेन्द्र शाहले ३१ रन तथा मयन यादवले १८ रन जोडेका थिए ।
शरफज मन्सुरले अविजित १७ तथा मेघराज रामले १६ रन बनाए । डब्लु मल्लिकले १५ रन बनाउँदा कर्णालीले २२ रन अतिरिक्तमा खर्चिएको थियो ।
कर्णालीका लागि यूनिस सिंहले १० ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिए । मोहन विक र आवास शाहले समान २/२ विकेट लिए ।
तेस्रो खेलमा पहिलो जित हात पारेको कर्णाली २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
दुई खेलमा अंक बिहिन मधेश तालिकाको पुछारमा रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।