काठमाडौं । निरन्तरको खराब नतिजाले विभागीय टिम एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङ दबाबमा परेका छन् । सहिद स्मारक ए डिभिजन लिगको पाँचौ चरणको खेलमा थ्री स्टारसंग पराजित भएसंगै राजेन्द्रले पोस्ट म्याच कन्फ्रेन्समा बोल्न समेत अस्विकार गरे ।
‘वहिष्कार जस्तो होला भनेर मात्र उपस्थित भएको हुँ । मलाई खेलको बारेमा केही बोल्नु छैन ।’ उनले भने । प्रशिक्षक तामाङले निरन्तरको खराब नतिजाले आफुलाई आजित बनाएको खुलाएका छन् ।
‘हामीले राम्रो खेलेका छौ । तर गोल हुन सकेको छैन । खेलाडीले राम्रो खेलेका छन् । सायद कमजोरी मेरै भएको छ होला ।’ उनले खेलपाटीसंग भने । जहिल्यै एउटै कुरा हुन्छ । बोल्ने शब्दै भेटिन, त्यही भएर पत्रकार सम्मेलनमा नबोलेर बाहिरिए । नतिजा ननिस्कदा एक प्रकारको ‘फ्रस्टेसन’ जस्तै भएको छु । उनले भने ।
पहिलो खेलमा हिमालयन शेर्पासंग बराबरी खेलेको एपीएफले दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व संघर्षपुर्ण जित निकालेको थियो । तेस्रो खेलमा कमजोर मानिएको ब्रिगेड ब्वाईजसंग लज्जास्पद हार ब्यहोरेको उसले चौथो खेल मनाङसंग गुमाएको थियो ।
लिगकाे पाँचाै चरणकाे खेलमा समेत एपीएफ थ्री स्टारसग पराजित हुन पुग्याे ।
राष्ट्रिय टिमबाट खेलेको राजेन्द्र रावल लगायतका खेलाडीले भरिएको एपीएफले लिगमा विभागीय प्रभाव छाड्न सकेको छैन । लिगमा राम्रो नतिजा निकाल्ने उद्वेश्य सहित एपीएफमा भित्रिएका उनले अपेक्षित प्रर्दशन देखाउन सकेका छैनन् ।
लिग उपाधि जितेका अनुभवी प्रशिक्षक यतिबेला क्लबको प्रर्दशनबाट दबाब महशुश गरिरहेका छन् । ‘हामीले ९० मिनेटनै राम्रो खेलेका छौ । तर स्कोरमा समस्या देखिएको छ । सायद मेरै कमी कमजोरीले त्यसो भएको हुनसक्छ ।’ उनी थप्छन् । एपीएफ ५ खेलबाट ४ अंक जोड्दै तालिकाको नवौ स्थानमा छ ।