काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ ।
लगातार तेस्रो जित हात पार्न क्रममा बागमतीले प्रदेशले शनिबार मधेश प्रदेशलाई पराजित गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई १ सय ५२ रनले पराजित गरेको हो ।
बागमतीले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश २५.५ ओभरमा अलआउट भएर ६५ रन मात्र बनाउन सक्यो ।
मधेश प्रदेश का लागि कप्तान अविशेक तिवारीले १८ रन तथा मयन यादवले ११ रन जोडे । मधेशका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बागमतीका लागि अहमद राजाले ५ तथा अभिशेक कोईरालाले ३ विकेट लिए । प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ४७.३ ओभरमा अलआउट हुदै २ सय १७ रन बनाएको थियो ।
बागमतीका लागि उत्तम मगर र योगेश भाटले अर्धशतकीय ईनिङ खेले । मगरले ९८ बलमा ७१ रन तथा भाटले ४० बलमा ५९ रन बनाएका थिए । प्रतिक श्रेष्ठले ३० तथा रोशन विकले १४ रनको ईनिङ खेलेका थिए ।
मधेशका लागि राजेश यादवले ४ तथा अविजित मण्डलले ३ विकेट लिएका थिए । रन्जित कुमारले २ तथा कप्तान अविशेक तिवारीले १ विकेट लिएका थिए ।
अपराजित बागमती ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । पहिलो खेलमा पहिलो हार व्यहोरेको मधेश प्रदेश भने अंक बिहिन रहदै अंक तालिकाको पुछारमा रहेको छ ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीहरुको बिचमा उपाधीका लागि खेल हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।