काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो जित निकालेको हो ।
कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान विशाल बिक्रम केसीले १३ तथा प्रज्वल थापाले १० रन बनाए ।
कर्णालीका अनुज चनाराले २ तथा सन्दीप शाही र मोहन बिकले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २२.२ ओभरमा अलआउट हुँदै १०० रन बनाएको थियो ।
कर्णालीका लागि कप्तान विपिन रावलले ३६ रन जोडे भने सुवास एयरले २३ रन बनाए ।
लुम्बिनीका विशाल बिक्रम केसीले ४ तथा अविशेक गौतमले २ विकेट लिए ।
जितसँगै लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ ।
कर्णालीको यो लगातार दोस्रो हार हो ।