काठमाडौं । ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एपीएफ क्लबलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा थ्री स्टारले एपीएफलाई २ - ० ले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफविरुद्ध थ्री स्टारका फरवार्ड रन्जन बिष्ट नायक बने । रन्जनले दुई गोल गरेपछि थ्री स्टारले सहज जित निकालेको हो ।
खेलको २५ औं मिनेटमा रन्जनको गोलबाट थ्री स्टारले सुरुवाती अग्रता बनाएको थियो । सुनिल बलको पासमा रन्जनले पुर्व क्लब एपीएफविरुद्ध गोल गरेका थिए ।
दोस्रो हाफमा पनि रन्जनले एक गोल गरे । खेलको ६६ औं मिनेटमा रन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २ - ० को जित दिलाए ।
खेलमा रन्जन म्यान अफ दि म्याच चुनिए ।
जितसंगै थ्री स्टार लिगको शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसंग अंक बराबर गरेको छ । थ्री स्टारले ५ खेलबाट १२ अंक जोडेको छ । तर, एक खेल कम खेलेको मनाङसंग हेट टु हेडमा पछि पर्दै थ्री स्टार दोस्रो स्थानमा छ ।
एपीएफले ५ खेलबाट ४ अंक जोडेको छ । एपीएफ लिगको नवौं स्थानमा छ ।