काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले विजयी सुरुआत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार प्रदेश-१ ले गण्डकी प्रदेशलाई २१ रनले पराजित गरेको हो ।
प्रदेश-१ ले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८.३ ओभरमा अलआउट हुदै १ सय ६२ रन मात्र बनाउन सक्यो ।
गण्डकीका लागि करण पंगेनीले ४८ तथा दीपक ड्रुम्रेले २५ रन बनाए । अर्जुन कुमालले २२ रन जोड्दा कप्तान सुवास भण्डारीले १८ रन बनाए ।
प्रदेश-१ का लागि अस्विन महतो र कप्तान दिपेश कडेंलले समान ३/३ विकेट लिए लिए । विपिन महतो र सोनु अन्सारीले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४९.४ ओभरमा अलआउट हुदै १ सय ८३ रन बनाएको थियो ।
प्रदेश-१ का लागि ओपनर सोनु मण्डलले ९४ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । सोनुले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
कप्तान दिपेश कडेंलले ३६ रन जोड्दा फैजल रहमानले २६ रन जोडे । उसका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गण्डकी प्रदेशका लागि शिसिर भुषालले ४ तथा निर्तिश गिरीले ३ विकेट लिए । कप्तान सुवास भण्डारीको नाममा २ विकेट रह्यो ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।