काठमाडौं । विभागिय टोली नेपाल एपीएफ क्लबले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको बिहिबारको पहिलो खेलमा एपीएफले प्रदेश-१ को टोलीलाई ८ विकेटले हराएको हो ।
मैदान ओसिलो भएका कारण खेल १३ ओभरमा घटाईएको थियो । प्रदेश-१ ले दिएको ९८ रनको लक्ष्य पछ्याएको एपीएफले ११.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
एपीएफको जितमा ओपनर प्रदिप सिंह ऐरीले २९ बलमा ३ चौकाको सहयोगमा ३३ रन बनाए ।
आयुष्मान बम २२ बलमा २८ रन बनाउँदा रन आउट भए । लोकेस बमले १३ बलमा २ छक्काको सहयोगमा अविजित २० तथा सुन्दीप जोराले अविजित १४ रन बनाए ।
प्रदेश-१ का लागि श्रवन यादवले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले १३ ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
प्रदेश १ का लागि अंकित सुवेदीले ११ बलमा २ छक्का र २ चौकाको सहयोगमा २४ रन बनाएका थिए ।
कप्तान सिद्धान्त लोहनीले १६ बलमा १७ रन जोड्दा शुभाकंर उराउले १६ रन बनाएका थिए । निरज मुखियाले ८ बलमा १५ रन तथा श्रवन यादवले १५ रन जोडे ।
एपीएफका लागि कप्तान भुवन कार्की र किशोर महतोले समान ३/३ तथा विपीन खत्री र अमर सिंह राउटेलाले समान १/१ विकेट लिए ।
लगातार दोस्रो जित हात पारेको एपीएफ ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
पहिलो हार व्यहारेको प्रदेश १ भने दोस्रो स्थानमा रहेको छ ।