काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको दिल्ली जिल्ला क्रिकेट एसोसियसन(डीडीसीए)लाई जितका लागि ३ सय ४ रनको लक्ष्य दिएको छ ।
आगामी वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टूको नामिबियामा हुने त्रिदेशीय सिरिजको तयारीको लागि नेपाली टोली हाल भारतको दिल्लीमा रहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले शतकीय ईनिङ खेले ।
कप्तान रोहितले १ सय ३५ बलमा ११ चौका र १ छक्काको सहयोगमा १ सय १३ रन तथा ऐरीले ६२ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित १ सय ९ रनको शतकीय ईनिङ खेले ।
हरिशंकर शाहले ३९ बलमा २५ तथा कुशल भुर्तेलले ३९ बलमा २१ रन बनाए । आरिफ शेखले अविजित १८ रन बनाए।
नेपालका ओपनरद्वय आसिफ शेख तथा अर्जुन साउदलाई शुन्यमा गुमाएको नेपालले पुर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पनि शुन्य रनमा गुमाएको थियो ।
डीडीसीएका लागि प्रिन्स यादवले ३ तथा मनिश सिरावतले २ विकेट लिए ।