काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा तेस्रो जित हात पारेको छ ।
शुक्रबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई ३ - ० ले पराजित गर्दै पुलिसले लिगको तेस्रो जित आत्मसात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन निर कुमार राईले दुई गोल गरे । यस्तै अभिषेक रिजालको नाममा एक गोल रह्यो ।
खेलको ४१ औं मिनेटमा निर कुमारको गोलबाट पुलिसले सुरुवाती अग्रता बनाएको थियो । सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका निरले अजित भण्डारीको पासमा हेड गोल गरेका थिए ।
दोस्रो हाफमा पुलिसले थप दुई गोल गर्यो । खेलको ६६ औं मिनेटमा अभिषेकले गोल गर्दै पुलिसको अग्रता २ - ० को बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा निर कुमारले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३ - ० को जित दिलाए । खेलको अन्तिम समयमा निर कुमार ह्याटि्रक गर्नबाट चुकेका थिए । वान भर्षेस वानको अवस्थामा पाएको मौका सदुपयोग गर्न नसक्दा उनि जारी लिगको पहिलो ह्याटि्रक कर्ता बन्न चुकेका हुन् ।
खेलमा पुलिसका निर कुमार राई म्यान अफ दि म्याच चुनिए ।
जितसंगै पुलिसले ५ खेलबाट १० अंक जोडेको छ । र, पुलिस तेस्रो स्थानमा उक्लिएको छ ।
एनआरटीको यो चौथो हार हो । लिगको पुछारमा रहेको एनआरटीको १ अंक छ ।