काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि २ सय ९४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा बागमतीले गण्डकीलाई २ सय ९४ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.१ ओभरमा २ सय ९३ रन बनाएको थियो । बागमतीका लागि योगेश भाट र उत्तम मगरले अर्धशतक बनाए । उत्तमले ७० बलमा ८७ रन बनाउँदा १० चौका र ३ छक्का प्रहार गरे ।
योगेशले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए । ओमकार यादवले ३७ रन जोड्दा अभिशेख कोईरालाले ३२ रनको योगदान गरे । अर्थब पौड्यालले २१ रन तथा सक्षम बस्ताकोटीले १८ रनको योगदान गरे ।
गण्डकीका लागि निर्तिस गिरी र सुदिप अर्यालले समान ३/३ विकेट लिए । सिब्रिन श्रेष्ठ,अर्जुन कुमाल र कप्तान सुवास भण्डारीको नाममा समान १/१ विकेट रह्यो ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।