काठमाडौं । विश्वकप लिग टू अन्तर्गत नामिबियामा हुने त्रिदेशीय सिरिजका लागि घोषणा भएको टिममा देव खनाल अटाएका छैनन् ।
देव नेपाली राष्ट्रिय टोली तथा घरेलु क्रिकेटमा पटक पटक आफुलाई प्रमाणित गरिसकेका खेलाडी हुन् ।
तर, घरेलु मैदानमा भएको युएईविरुद्धको सिरिजमा टोलीमा रहेका देव नामिबिया जाने टोलीमा भने नपरेका हुन् ।
देव टोलीमा नपरेपछि नेपाल क्रिकेट संघ(क्यान)को व्यापक आलोचना भईरहेको छ ।
देव टोलीमा नरहदा आलोचना भएपछि क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले उनी नपर्नुको कारण बताएका छन् ।
'देव टोलीमा नपर्नुको खास कारण उनको प्रदर्शन नभई देवले खेल्दै आएको तेस्रो नम्बरमा ज्ञानेन्द्रको पनि स्थान रहेको थियो । उक्त स्थानमा प्रशिक्षकले ज्ञानेन्द्रको भुमिका देख्नु भएकोले तथा ज्ञानु माथी बिश्वास राख्नु भएकोले देवलाई टोलीमा राख्न नसकिएको हो,' क्यानका कार्यवाहक सचिव मल्लले भने, 'टिम १४ खेलाडीको नै हुने हो तीन विकेटकिपर राखौं । दुई चार लेग स्पिनर भन्ने हुदैन । क्रिकेटमा यो पर्यो त्यो परेन होईन । हिजो देव आवश्यक थियो । ज्ञानेन्द्र लय बाहिर थिए र देवले अबसर पाए अहिले ज्ञानेन्द्रले पूनरागमन गर्यो । उसलाई नयाँ प्रशिक्षकले मौका दियो र त्यहाँ पनि ५० हान्यो । अहिले पनि राम्रो खेल्यो ।'
ज्ञानेन्द्रले गत शुक्रबार युएईसँग तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ६४ रनको इनिङ खेलेका थिए ।
देवले २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध टियु क्रिकेट मैदानमा डेब्यू गरेका थिए ।
नेपालका लागि १० एकदिवसिय अन्तराष्ट्रिय खेलमा २ अर्धशतकसहित २ सय ५३ रन बनाएका छन् । उनले पछिल्लो पटक गत सेप्टेम्बरमा केन्या भ्रमणमा एकदिवसिय अभ्यास खेल खेलेका थिए ।
देव टोलीमा नपर्नुमा बलात्कार आरोप लागेका सन्दीप लामिछानेसँगको घटनासँग जोडिएर पनि हेर्ने गरिएको छ । त्यो घटनासँग देव टोलीमा नपर्नुमा कुनै सम्बन्ध नभएको मल्लले प्रष्ट पारे ।
'देव टोलीमा नपर्नुमा सन्दीपसँग घटना कुनै सरोकार छैन । त्यो भएको भए त प्रदेशको टोलीबाट पनि हटाइदिन भन्थ्यौं । देव टोलीमा नपर्नुमा पोजिसन नै हो । प्रशिक्षकले ज्ञानेन्द्रमाथि विश्वास गर्यो', उनले भने ।
देव लुम्बिनी प्रदेशबाट कप्तानी गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ३ मा अर्धशतकसहित २ सय ४९ रनका साथ सर्वाधिक रन बनाउने ब्याटरको तेस्रो स्थानमा थिए ।