काठमाडौं । घरेलु टोली न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पाहुना टोली भारतले जितेको छ ।
वर्षाको कारण तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल डीएल पद्दतिको आधारमा 'टाइ' भएसँगै भारतले तीन खेलको सिरिज १-० ले सिरिज जितेको हो ।
न्युजिल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्यसहित भारतले ब्याटिङ गरिरहदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि भारतले ९ ओभरमा ७६ रनको नयाँ लक्ष्य पायो । भारतले यस लक्ष्य पछ्याउने क्रममा ९ ओभरमा ७५ रन बनायो र खेल 'टाइ' भयो ।
भारतका लागि कप्तान हार्दिक पाण्ड्याले १८ बलमा अविजित ३० रन जोड्दा सुर्यकुमार यादवले १३ रन बनाए । ऋषव पन्तले ११ तथा ईशान किशनले १० रन बनाए ।
घरेलु टोलीका लागि कप्तान टिम साउदीले २ तथा एडम मिल्न र ईस सोधीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले १९ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि ग्लेन फिलिप्स तथा डेभन कन्वेले अर्धशतकीय ईनिङ खेले । कन्वेले ४९ बलमा ५९ तथा फिलिप्सले ३३ बलमा ५४ रन जोडेका थिए । मार्क च्याम्पम्यानले १२ तथा ड्यारियल मिचेलले १० रन बनाए । उसका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहम्मद सिराज र अर्शदिप सिंहले समान ४/४ तथा हर्षल पटेलले १ विकेट लिए ।
अब भारत र न्युजिल्याण्डबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।