काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्लले प्रतियोगिताको तयारी सकिएको जानकारी गराए । उनले प्रतियोगितालाई वाईवाईले प्रायोजन गरेको समेत बताए ।
प्रतियोगिता भोलि मंसिर ७ गतेबाट सुरु भएर १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने सिंहले बताए ।
जिल्ला, प्रदेश छनोट सहित प्रतियोगिताको कुल बजेट १ करोड २५ लाख ८० हजार रहेको सिंहले बताए ।