काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले युएईसँगको दोस्रो एकदिवसीय सिरिजमा निस्किएको जितले आफुलाई खुशी बनाएको बताएका छन् ।
टियु क्रिकेट मैदानमा बुधबार युएईलाई ३ विकेटले पराजित गर्दै ३ खेलको सिरिजमा १-१ को बराबरी गरेपछि रोहितले कप्तानको रुपमा एकदिवसीय अन्तराष्ट्रियमा पहिलो जित हात पार्दा आफुलाई खुशी लागेको बताएका छन् ।
'खेलको सुरुमा हामीले यूएईलाई कम रनमा रोक्ने रणनीति बनाएका थियौ । तर, पावरप्लेमा सोचेको जस्तो बलिङ गर्न नसक्दा पावरप्लेमा यूएईले धेरै रन बनायो,' रोहितले भने 'समग्र खेलमा भने हाम्रो बलिङ राम्रो नै रह्यो ।'
'आरिफ दाइले सधै झै राम्रो खेल्नु भयो,' उनले थपे, 'उहाँको यस्तो खेल हामीले धेरै पटक देखेका छौं ।'
तिव्र गतिका बलर गुल्सन झाको आक्रमक ईनिङ्सको पनि रोहितले खुलेर तारिफ गरे ।
'गुल्सन तिव्र गतिका बलर हुन्, तर आजको ब्याटिङ हेर्दा उसलाई अलराउन्डर भन्न मिल्ने भयो ।'
गुल्सनले ३३ र आरिफले अविजित ३३ रन बनाएका थिए ।
नेपालको ओपनिङमा समस्या रहेको रोहितले बताए । अघिल्लो क्रमका ब्याटरले टिकेर खेल्न सकेका छैनन् । अगाडीका ब्याटर नचल्दा पछिका ब्याटरलाई दबाब परेको भएको रोहितले बताए ।
'कुशल दाइलाई हामीले जुन भुमिका जहाँ चाहिन्छ त्यहाँ प्रयोग गर्ने गरेका छौं । उहाँले नेट अभ्यासमा बलिङमा पनि राम्रो गर्नु हुन्छ । सोहि अनुरुपको खेल आज देखाउँनु भयो ।' रोहितले भने ।
कुशलले पनि आज अलराउण्डरको भुमिका देखाए । उनले बलिङमार्फत १ विकेट लिए भने ब्याटिङमा ३५ रन बनाए।