काठमाडौं । घरेलु टोली नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपूर्ण रहेको छ ।
यता, यूएई पहिलो खेलमा पाएको जितले थप हौसिएको छ । युएई दोस्रो खेल जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ ।
तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।
युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।
हेड टु हेड -
नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ७ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ।
नेपालले २०१९ मा यूएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो । तीन खेलको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । सोहि सिरिजको तेस्रो खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।