काठमाडौं । नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज आज सोमबारबाट सुरु हुदैछ ।
भ्रमणकारी टोली युएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् ।
नेपाल र यूएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।
नेपाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । २०१८ अगस्ट ३० मा मलेसियाको किन्नारा ओभलमा भएको खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा नेपाल ७८ रनले पराजित भएको थियो ।
सो खेलमा नेपालका सुवास खकुरेलले ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । दीपेन्द्र सिंह ऐरीले ४० तथा सोमपाल कामी २७ रनमा अविजित रहेका थिए । बलिङमा सन्दीप लामीछानेले ४ विकेट तथा सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट लिएका थिए ।
नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि करण केसी,सन्दीप लामिछाने र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।
त्यहि सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई १ सय ४५ रनले हराएको थियो । यस खेलमा हालका कप्तान रोहित कुमार पौडेलले ५५ रन बनाएका थिए । बलिङ तर्फ सोमपाल कामीले ५ विकेट लिएका थिए ।
सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित हात पर्दै ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । त्यस खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए । बलिङमा करण केसी र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।
नेपाल र यूएईबीचको पाचौं भेट दुबईमा भएको विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार व्यहोरेको थियो । मार्च १८ २०२२ मा भएको यस खेलमा नेपालका लागि हालका कप्तान रोहित पौडेलले ४६ रन बनाएका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका थिए ।
सोही सिरिज अन्तर्गको दोस्रो खेलमा नेपाल र युएईबीचको छैटौं भेट थियो । जुन खेलमा नेपाल ९९ रनले पराजित भएको थियो । त्यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । बलिङ तर्फ तत्कालिन कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।