काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब च्याम्पियन भएको छ । एपीएफले शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको थियो ।
यस प्रतियोगितामा अपेक्षा गरिएका बलरले अपेक्षाकृत बलिङ गरेका छैनन् । तर, केही बलरबाट नसोचिएको प्रदर्शन पनि आएको छ । प्रतियोगिताको उपाधि छिनोफानो भईसक्दा सर्वाधिक विकेट लिने पाँच बलरहरु यस प्रकार छन् ।
१. मौषम ढकाल
विभागीय टोली नेपाल एपीएफ क्लबमा आबद्ध ढकालले २ खेलमा ४/४ विकेट सहित ६ खेलमा १५ विकेट लिएका छन् । एपीएफको टिमलाई च्याम्पियन बनाउँदा यिनको योगदान महत्वपुर्ण रहेको थियो ।
उनले यस प्रतियोगिताको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध विकेट विहीन रहदै १८ रन खर्चिएका थिए । सुदुरपश्चिमसँगको दोस्रो खेलमा ८ रन खर्चिएर ढकालले २ विकेट लिएका थिए । गण्डकी प्रदेशसँगको आफ्नो तेस्रो खेलमा समूह चरणको आफ्नो उत्कृष्ट बलिङ देखाउने क्रममा उनले ३६ रन खर्चिएर ४ विकेट लिएका थिए ।
समूह चरणको अन्तिम खेलमा कर्णाली प्रदेशविरुद्ध ५१ रन खर्चिएर ४ विकेट लिएका थिए । सेमिफाइनलमा मधेश विरुद्धको खेलमा ढकालले ४० रन खर्चिएर २ विकेट लिएका थिए । फाइनलमा त्रिभुवन आर्मीविरुद्ध ढकालले ३२ रन खर्चिएर ३ विकेट लिएका थिए । यसै प्रदर्शनका आधारमा ढकाल यस प्रतियोगिताको उदयमान खेलाडीको रुपमा घोषित भएका थिए ।
२.करण केसी
नेपाल पुलिसका महत्वपुर्ण बलर रहेका केसीले आफ्नो टोलीलाई फाइनल पुर्याउन नसके पनि सेमिफाईनलमा महत्वपुर्ण ६ विकेट लिएका थिए । यस प्रतियोगितामा केसीले यस प्रतियोगिताको ५ खेलमा १३ विकेट लिएका थिए ।
पहिलो खेलमा बागमती प्रदेशविरुद्ध १३ रन खर्चिएर केसीले २ विकेट लिएका थिए । दोस्रो खेलमा प्रदेश एक विरुद्ध विकेट बिहिन रहेका केसीले तेस्रो खेलमा लुम्बिनी प्रदेशविरुद्ध १९ रन खर्चिएर २ विकेट लिएका थिए । समूह चरणको अन्तिम खेलमा मधेश प्रदेश विरुद्ध १९ रन दिएर ३ विकेट लिएका थिए । सेमिफाइनलमा आर्मीविरुद्ध केसीले ५२ रन खर्चिएर ६ विकेट लिएका थिए ।
३.विपिन खत्री
गण्डकी प्रदेशका कप्तान समेत रहेका २४ वर्षीय खत्री मिडियम फास्ट बलर हुन् । गण्डकी समूह चरणबाट बाहिरिए पनि खत्रीले ४ खेलमा ११ विकेट लिएका छन् । उनले पहिलो खेलमा सुदुरपश्चिम प्रदेश विरुद्ध ४३ रन खर्चिएर ४ विकेट लिएका थिए । दोस्रो खेलमा कर्णाली प्रदेशविरुद्धको खेलमा २ विकेट लिएर २६ रन खर्चिएका थिए ।
तेस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबविरुद्ध उनले १ विकेट लिएका थिए । समूह चरणको अन्तिम खेलमा प्रतियोगिताकै उत्कृष्ट बलिङ गरेका खत्रीले २३ रन दिएर ४ विकेट लिएकामा विपक्षी टोलीमा विभागीय टोली त्रिभुवन आर्मी रहेको थियो ।
४. राजेश यादव
मधेश प्रदेशका बलर यादवले मिडियम फास्ट बलर हुन् । उनले समूह चरणका ४ खेलमा १० विकेट लिएर यस सूचीको तेस्रो स्थानमा रहेका छन् । यादवले पहिलो खेलमा प्रदेश एक विरुद्ध २९ रन खर्चिएर १ विकेट लिएका थिए ।
दोस्रो खेलमा लुम्बिनी प्रदेशविरुद्ध ३ विकेट लिदै २३ रन खर्चिएका थिए । बागमती प्रदेशविरुद्धको तेस्रो खेलमा यादवले २२ रन खर्चिएर ३ विकेट लिएका थिए । विभागीय टोली नेपाल पुलिसविरुद्ध समूह चरणको अन्तिम खेल खेलमा उनले ४७ रन खर्चिएर ३ विकेट लिएका थिए ।
५. बिक्रम सोब
आर्मीका महत्वपुर्ण बलर सोबले यस संस्करणको प्रतियोगितामा ५ खेलमा ११ विकेट लिएका छन् । उनले एक ईनिङमा ४ विकेट लिएका छन् ।
एपीएफविरुद्धको पहिलो खेलमा सोबले २३ रन खर्चिएर ४ विकेट लिएका थिए । सुदुरपश्चिम प्रदेशसँगको दोस्रो खेलमा सोबले २३ रन खर्चिएर २ विकेट लिएका थिए । तेस्रो खेलमा उनले गण्डकी प्रदेश विरुद्ध १२ रन खर्चिएर २ विकेट लिए।
चौथो तथा समूह चरणको अन्तिम खेलमा आर्मीले उनलाई आराम दिएको थियो । सेमिफाइनल खेलमा नेपाल पुलिस विरुद्धको खेलमा सोबले ६६ रन खर्चिएर ३ विकेट लिएका थिए । फाइनलमा सोबले ३५ रन खर्चिएर १ विकेट लिएका थिए ।