काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब च्याम्पियन भएको छ। एपीएफले शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको थियो ।
यस संस्करणको प्रतियोगितामा कीर्तिमान कायम गर्ने केही ब्याटिङ प्रदर्शन देखिएको छ । प्रतियोगिताको उपाधि छिनोफानो भईसक्दा सर्वाधिक रन बनाउने पाँच ब्याट्सम्यानहरु यस प्रकार छन् ।
१. दीपेन्द्र सिंह ऐरी
विभागीय टोली नेपाल पुलिस क्लबका कप्तान समेत रहेका ऐरीले प्रधानमन्त्री कप क्रिकेटको ईतिहासमा नै एकै संस्करणमा २ शतकको आफ्नो नाममा राखी किर्तिमान बनाएका छन् । उनले बागमती प्रदेशविरुद्ध १ सय ८ रन तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय ४० रनको शतकीय ईनिङ खेलेका थिए । प्रधानमन्त्री कपको यस संस्करणमा ऐरीले ३ सय ५६ रन ५ खेलमा बनाएका थिए ।

ऐरीले समूह चरणको पहिलो खेलमा नै बागमती प्रदेशविरुद्ध १ सय ८ रनको शतकीय ईनिङ खेलेका थिए । सो खेलमा ऐरीको शतकको मद्दतले पुलिसले बागमतीलाई १ सय ९२ रनले पराजित गरेको थियो । चौथो स्थानमा ब्याटिङमा आएका ऐरीले ८२ बलमा १ सय ८ रन बनाएका थिए । पुलिस ७ विकेटले विजयी भएको समूह चरणको दोस्रो खेलमा ऐरीले अविजित १४ रन बनाएका थिए ।
तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको खेलमा ऐरीले अविजित ४३ रन बनाएका थिए । समूह चरणको अन्तिम तथा चौथो खेलमा मधेश प्रदेशविरुद्ध ऐरीले ५१ रन बनाएका थिए ।
२. रोहित कुमार पौडेल
त्रिभुवन आर्मी क्लबका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेल ६ खेलमा २ सय ८० रनका साथ यस सूचीको दोस्रो स्थानमा रहेका छन् ।
उनले यस प्रतियोगितामा ३ अर्धशतक प्रहार गरेका थिए । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग ५६ रनले पराजित भएको खेलमा पौडेलले ५१ रनको अर्धशतकिय ईनिङ खेलेका थिए । दोस्रो खेलमा सुदुरपश्चिम विरुद्ध उनले ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
गण्डकी प्रदेशसँगको तेस्रो खेलमा पौडेलले ४ रन बनाएका थिए । कर्णाली प्रदेशसँगको चौथो खेलमा उनले ३५ रन बनाएका थिए । सेमिफाईनल खेलमा पौडेलले नेपाल पुलिसका विरुद्ध ८९ रनको ईनिङ खेलेका थिए । शनिबार भएको फाइनलमा रोहितले एपीएफ विरुद्धको खेलमा ४९ रन बनाएका थिए ।
३. देव खनाल
समूह चरणमा नै यात्रा टुङ्गाएको लुम्बिनी प्रदेशका कप्तान देव खनाल यस प्रतियोगिताको सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा रहेका छन् । खनालले प्रतियोगिताको ४ खेलमा ३ अर्धशतक सहित २ सय ४९ रन बनाएका छन् ।
यस प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेशविरुद्धको खेलमा खनालले अविजित ७७ रनको अर्धशतकिय ईनिङ खेलेका थिए । विभागीय टोली पुलिसविरुद्धको दोस्रो खेलमा उनले ७४ रनको अर्धशतकिय ईनिङ खेलेका थिए । मधेश प्रदेशविरुद्धको आफ्नो तेस्रो खेलमा खनालले ९ रन बनाएका थिए । समूह चरणको अन्तिम खेलमा उनले प्रदेश एकविरुद्ध ८९ रन बनाएका थिए ।
४. आरिफ शेख
पुलिस क्लबका महत्वपुर्ण सदस्य रहेका शेख यस सूचीको चौथो स्थानमा रहेका छन् । उनले यस प्रतियोगिताको ५ खेलमा २ अर्धशतक सहित २ सय ३५ रन बनाएका थिए ।
बागमती प्रदेशविरुद्धको पहिलो खेलमा शेखले ३६ रन बनाउँदा दोस्रो खेलमा प्रदेश एकविरुद्ध ब्याटिङको अवसर नै पाएनन् । लुम्बिनी प्रदेश विरुद्धको तेस्रो खेलमा शेखले ३५ रन बनाएका थिए । समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशविरुद्ध शेखले ७३ रन बनाएका थिए । सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध उनले ९१ रन बनाएका थिए ।

५. आसिफ शेख
च्याम्पियन टोली नेपाल एपीएफ क्लबका ओपनर ब्याट्सम्यानका रुपमा रहेका शेखले यस सूचीको तेस्रो स्थानमा रहेका छन् । उनले यस प्रतियोगिताको ६ खेलमा १ शतक सहित २ सय २१ रन बनाएका छन् । त्रिभुवन आर्मीविरुद्धको पहिलो खेलमा शेखले ९ रन बनाएका थिए ।
दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध ४२ रनको अविजित ईनिङ खेलेका थिए । गण्डकी प्रदेशविरुद्ध एपीएफको तेस्रो खेलमा शेखले १ रन बनाएका थिए । कर्णालीसँगको आफ्नो टोलीको समूह चरणको अन्तिम तथा चौथो खेलमा उनले १ सय १० रनको शतकीय योगदान गरेका थिए । सेमिफाइनलमा शेखले मधेश प्रदेशविरुद्ध २५ रन बनाएका थिए । फाइनलमा आर्मीविरुद्ध उनले १४ रन बनाएका थिए ।