काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेलले आफुले कप्तानको जिम्मेवारी पाउँदा खुशी लागेको बताएका छन् ।
कप्तान नियुक्तपछि पहिलो पटक प्रतिक्रिया दिदै कप्तान पौडेलले कप्तानीको जिम्मेवारीले आफुलाई खुशी दिलाएको बताएका हुन् ।
'क्रिकेट खेल्न सुरु गर्दा मैले राष्ट्रिय टिमको सपना देखेको तर कप्तान बन्ने सोचेको थिईन । मेरा लागि राष्ट्रिय टोलीमा पर्नु नै ठूलो कुरा रहेको थियो,' टियु मैदानमा संचारकर्मीसँग कुराकानी गर्दै उनले भने ।
नेपाली क्रिकेट टोलीका सबैभन्दा कम उमेरमा कप्तान बनेका पौडेलले सबै साथ र सहयोग रहेकोले यसलाई आफुले अवसरको रुपमा लिएको समेत बताए ।
'टिममा सबैको साथ सहयोग रहेकोले यसलाई मैले कठिन जिम्मेवारीको रुपमा लिएको छैन,' उनले थपे, 'केन्या टुरका क्रममा मलाई सिनियर, जुनियर सबैको साथ र सहयोग राम्रो रहेकोले यसले मलाई थप हौसला दिनेछ ।'
कप्तान पौडेलले यूएईसँगको घरेलु मैदानमा हुने सिरिज तथा विश्वकप लिग टू अन्तर्गका बाकीँ खेल महत्वपुर्ण र चुनौतीपुर्ण रहेको बताए ।
मुख्य बलरका रुपमा रहेका खेलाडी टिममा नरहेको अवस्थामा नेपालको एकदिवसीय मान्यता जोगाउनु समेत चुनौतीपुर्ण रहेको उनले बताए ।
आफ्नो प्रदर्शनीमा कप्तानीले कुनै असर नपार्ने र प्रदर्शन झनै राम्रो हुने पौडेलले बताए ।