काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल वर्षाले प्रभावित हुने सम्भावना देखिएको छ ।
मेलबर्नमा आइतबार हुने फाइनलमा इङ्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
तर, मौषम विज्ञान विभागले आइतबार मेलबर्नमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
'मौसम विज्ञहरुको जानकारी अनुसार आइतबार वर्षा हुने सम्भावना ९५ प्रतिशत रहेको छ । धेरै उच्च भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ,' मौसम विज्ञान विभागले जनाएको छ ।
फाइनलका लागि रिजर्भ डे सोमबार छुट्याइएको छ । तर, सोमबार पनि वर्षाको सम्भावना ९५ प्रतिशत नै देखिएको छ । प्रतियोगिताको नकआउट खेलका न्यूनतम १० ओभर को आवश्यकता पर्दछ ।
यदि खेल आइतबार सुरु भई तर पूरा हुन सकेन भने रोकिएको स्थानबाट रिजर्भ डेमा पुनः सुरु हुनेछ । एक पटक टस भइसकेपछि खेललाई लाइभ मानिन्छ ।
यदि खेल आइतबारबाट सुरु हुन्छ । ओभरको कटौती हुन्छ । तर, मौसमका कारण खेल पुनः सुरु हुने सम्भावना छैन भने खेल रिजर्भ डेमा २० ओभरको प्रतिस्पर्धाका रूपमा पुनः सुरु हुनेछ ।