काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको रोमान्चक दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय ९ रन जोड्दै पूरा गर्यो ।
आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अर्धशतकीय इनिङ खेलेका हरि चौहानले ७५ रन बनाए ।
राजेश पुलामीले अविजित ४३ रन बनाए भने शाहब आलम १ रनमा अविजित रहे ।
कप्तान विनोद भण्डारीले ३२ रन जोड्दा बिक्रम सोबले ३० रन बनाए ।
अर्जुन साउद ११, भिम शार्की १० र कुशल मल्ल सुन्य रनमा आउट भए ।
पुलिसका करण केसीले ६ विकेट लिए । राशिद खान र ललित राजवंशीले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय इनिङ खेले ।
दीपेन्द्रले १ सय ४० रन बनाए । उनले १ सय २५ बलमा ११ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै आरिफ शेखले अविजित रहदै ९१ रनको अर्धशतकीय इनिङ खेले ।
करण केसी ८ रनमा अविजित रहे ।
कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।
आर्मीका बिक्रम सोबले ३ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।
अब उपाधिका आर्मीले एपीएफ क्लबको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएर एपीएफ फाइनलमा प्रवेश गरिसकेको छ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।