काठमाडौं । पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज शुक्रबार दोस्रो सेमिफाइनल खेल हुँदैछ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
पुलिस क्लब समूह 'बी' को विजेता तथा आर्मी समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
पुलिस क्लब समूह चरणमा अपराजित रहदै सेमिफाइनल पुगेको हो । आर्मीले समूह चरणका ४ खेलमा ३ मा जित र १ खेलमा हार व्यहोरेको थियो ।
आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने दोस्रो टोली बन्ने योजनामा रहेका छन् ।
नेपाल एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार मधेश प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरिसकेको छ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।