काठमाडौं । नेपाल एपीएफ क्लबका कप्तान शरद भेषवाकरले प्रधामन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचाल्नका लागि आफ्नो टिम तयार रहेको बताएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बिहीबार मधेश प्रदेशलाई ७ विकेटले हराएर फाइनल प्रवेश गरेपछि बोल्दै कप्तान भेषवाकरले आफ्नो टिम फाइनलका लागि तयार रहेको बताए ।
'उपाधि रक्षाका लागि हामी तयार छौं । प्रतियोगितामा हाम्रो लक्ष्य पनि उपाधि नै रहेको थियो । यसका लागि हाम्रो टिम तयार रहेको छ,' खेलपछि भेषवाकरले भने, 'यो सफलताको श्रेय टिमका हरेक सदस्यलाई जान्छ । हामी सबै मिलेर नै यो सफलता प्राप्त भएको हो ।'
घरेलु क्रिकेटमा सफल कप्तानका रुपमा आफ्नो छाप बनाएका भेषवाकरले हरेक प्रतियोगिता आफ्नो कारणले भन्दा पनि टिमका हरेक सदस्यको योगदानले गर्दा सफलता सम्भव भएको बताए ।
'आज टस जितेर बलिङ रोजे पछि मधेशलाई कम रनमा रोक्ने हाम्रो योजना रहेको थियो सो योजना सफल भएर हामी फाईनलमा पुग्यौ,' उनले भने, 'हामीले प्रदेशको टोली भनेर उनीहरुलाई कम आकेका थिएनौ । क्षमता भएर नै उनीहरु सेमिफाइनलसम्म आएका हुन् ।'
एपीएफ टिम एक खेलाडीको प्रदर्शनको आधारमा यहाँ सम्म नआएको बताउदै यस टिमको सफलतामा हरेकको योगदान बराबरी रहेको भेषवाकरले बताए ।
भेषवाकरले फाइनल जित्नका लागि खेल्ने हुँदा यो टिम परोस् या त्यो नपरोस् भन्ने नसोचेको बताउँदै आफ्नो उत्कृष्ट दिएर खेलेमा सफलता पाईने बताए ।
नेपाल एपीएफ क्लबले उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो संस्करणको च्याम्पियन एपीएफ तेस्रो पटक फाइनलमा पुगेको हो । एपीएफ यसअघि दोस्रो र चौथो संस्करणमा फाइनलमा पुगेको थियो ।