काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध भारतले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
एडिलेट ओभलमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो ।
आज इंग्ल्यान्डलाई पराजित गर्दै भारत तेस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । २००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो ।
इंग्ल्यान्डले भारतविरुद्ध दुई खेलाडी परिवर्तन गरेको छ । चोटका कारण डेविड मलान र तीव्र गतिका बलर मार्क वुड आज टोलीमा छैनन् । फिलिप साल्ट र क्रिस जोर्डनलाई मौका दिएको छ । भारतले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।
यता, भारतलाई पराजित गर्दै इंग्ल्यान्ड तेस्रो पटक फाइनल पुग्न चाहन्छ । २०१० को तेस्रो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन इंग्ल्याण्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।
दुवै टोलीले सिधै सुपर १२ मा स्थान बनाएका थिए । यी दुई देशबीच टी-ट्वान्टी अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इंग्ल्याण्ड १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भने भारत हाबी भएको छ । भारत चार खेलमा विजयी हुदाँ एक खेलमा इंग्ल्यान्ड विजयी भएको छ ।
विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।