काठमाडौं । पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भईसकेको छ।
पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
यस प्रतियोगितामा अपेक्षा गरिएका बलरले अपेक्षाकृत बलिङ गर्न सकेका छैनन् । तर, केही बलरबाट नसोचिएको प्रदर्शन पनि आएको छ ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल बाँकी रहँदा सर्वाधिक विकेट लिने पाँच बलरहरु यस प्रकार छन् ।
१. विपिन खत्री :
गण्डकी प्रदेशका कप्तान समेत रहेका २४ वर्षीय खत्री मिडियम फास्ट बलर हुन् । गण्डकी समूह चरणबाट बाहिरिए पनि खत्रीले ४ खेलमा ११ विकेट लिएका छन् । उनले पहिलो खेलमा सुदुरपश्चिम प्रदेश विरुद्ध ४३ रन खर्चिएर ४ विकेट लिएका थिए । दोस्रो खेलमा कर्णाली प्रदेश विरुद्धको खेलमा २ विकेट लिएर २६ रन खर्चिएका थिए । तेस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबविरुद्ध उनले १ विकेट लिएका थिए । समूह चरणको अन्तिम खेलमा प्रतियोगिताकै उत्कृष्ट बलिङ गरेका खत्रीले २३ रन दिएर ४ विकेट लिएकामा विपक्षी टोलीमा विभागीय टोली त्रिभुवन आर्मी रहेको थियो ।
२. मौषम ढकाल :
विभागीय टोली नेपाल एपीएफ क्लबमा आबद्ध ढकालले २ खेलमा ४४ विकेट सहित ४ खेलमा १० विकेट लिएका छन् । एपीएफको टिम सेमिफाइनल पुगेको हँदा उनको विकेट संख्यामा बढोत्तरी हुने अनुमान गर्न सकिन्छ । उनले यस प्रतियोगिताको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध विकेट विहीन रहदै १८ रन खर्चिएका थिए । सुदुरपश्चिमसँगको दोस्रो खेलमा ८ रन खर्चिएर ढकालले २ विकेट लिएका थिए । तेस्रो खेलमा गण्डकी प्रदेशसँगको खेलमा समूह चरणको आफ्नो उत्कृष्ट बलिङ देखाउने क्रममा ३६ रन खर्चिएर ४ विकेट लिएका थिए । समूह चरणको अन्तिम खेलमा कर्णाली प्रदेशकाविरुद्ध ५१ रन खर्चिएर ४ विकेट लिएका थिए ।
३. राजेश यादव :
मधेश प्रदेशका बलर यादवले मिडियम फास्ट बलर हुन् । उनले समूह चरणका ४ खेलमा १० विकेट लिएर यस सूचीको तेस्रो स्थानमा रहेका छन् । यादवले पहिलो खेलमा प्रदेश एक विरुद्ध २९ रन खर्चिएर १ विकेट लिएका थिए । दोस्रो खेलमा लुम्बिनी प्रदेशविरुद्ध ३ विकेट लिदै २३ रन खर्चिएका थिए । बागमती प्रदेश विरुद्धको तेस्रो खेलमा यादवले २२ रन खर्चिएर ३ विकेट लिएका थिए । विभागीय टोली नेपाल पुलिसविरुद्ध समूह चरणको अन्तिम खेल खेलमा उनले ४७ रन खर्चिएर ३ विकेट लिएका थिए ।

४. दीपेन्द्र सिंह ऐरी :
विभागीय टोली नेपाल पुलिस क्लबका कप्तान समेत रहेका दीपेन्द्रले समूह चरणका ४ खेलमा ९ विकेट लिएका छन् । बागमती प्रदेशविरुद्धको पहिलो खेलमा ऐरीले १० रन खर्चिएर ३ विकेट लिएका थिए । प्रदेश एकविरुद्धको दोस्रो खेलमा ऐरीले १ रन खर्चिएर २ विकेट लिएका थिए । लुम्बिनी प्रदेशसँगको तेस्रो खेलमा ऐरीले ५५ रन खर्चिएर ४ विकेट आफ्नो नाममा गराएका थिए । समूह चरणको अन्तिम तथा चौथो खेलमा भने मधेश प्रदेशसँगको खेलमा विकेट विहीन भए ।
५. अनिल खरेल :
२१ वर्षीय खरेल लुम्बिनी प्रदेशका स्पिनर हुन् । खरेलले यस प्रतियोगिताको ४ खेलमा ९ विकेट लिएका छन् । खरेल आबद्ध लुम्बिनी प्रदेशले भने समूह चरण पार गर्न सकेन । खरेलले प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश विरुद्ध ३० रन खर्चिएर ४ विकेट लिएका थिए ।

विभागीय टोली नेपाल पुलिससँगको लुम्बिनीको दोस्रो खेलमा खरेलले ३१ रन खर्चिएर २ विकेट लिएका थिए । मधेश प्रदेशसँगको तेस्रो खेलमा उनले ३७ रन खर्चिएर २ विकेट लिएका थिए । समूह चरणको अन्तिम खेलमा प्रदेश एकविरुद्ध उनले ३१ रन खर्चिएर १ विकेट लिएका थिए ।