काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ ।
पहिलो सेमिफाइनलमा साविक उपविजेता टोली न्युजिल्याण्ड र दोस्रो संस्करणको विश्वकपको च्याम्पियन टोली पाकिस्तान भिड्दै छन् । सिड्नी क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।
पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । पाकिस्तान भने २००९ पछि पहिलो पटक फाइनल पुग्न चाहन्छ ।
२००९ पछि चार पटक पाकिस्तानको सेमिफाइनलमै यात्रा टुङ्गिएको छ ।
दुवै टोलीले सिधा सुपर १२ मा स्थान बनाएका थिए । न्युजिल्याण्डले घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई ८९ रनले सहज रुपमा पराजित गरि सुपर १२ को यात्रा सुरु गरेको थियो । दोस्रो खेलमा अफगानिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो ।

न्युजिल्याण्डले तेस्रो खेलमा पुर्व च्याम्पियन टोली श्रीलंकालाई ६५ रनले पराजित गरेको थियो । तेस्रो खेल सम्म अपराजित रहेको न्युजिल्याण्ड चौथो खेलमा इंग्ल्यान्डसँग २० रनले पराजित भएकोमा समूह चरणको अन्तिम खेलमा आयरल्यान्डलाई ३५ रनले हराएको थियो ।
यता, पाकिस्तान भने पहिलो खेलमा भारतसँग ४ विकेट तथा दोस्रो खेलमा जिम्बावेसँग एक रनले अप्रत्यासित हार व्यहारेको थियो । पाकिस्तानले तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट तथा चौथो तथा महत्वपुर्ण मानिएको चौथो खेलमा दक्षिण अफ्रिकालाई डीएल पद्धतिको आधारमा ३३ रनले पराजित गर्यो । समूह चरणको पाँचौ तथा अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

यी दुई देशबीच टी-ट्वान्टी अन्तराष्ट्रियमा २८ खेल हुँदा पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा पाकिस्तान हाबि भएको छ । पाकिस्तान चार खेलमा विजयी हुदाँ एक खेल न्युजिल्याण्ड विजयी भएको छ ।
विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आगामी आइतबार हुनेछ।