काठमाडौं । नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफन माइबर्गले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
स्टेफनले परिवारसँग समय बिताउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको बताएका छन् । यद्यपि, उनी फ्रेन्चाईज क्रिकेटमा उपलब्ध रहने छन् ।
टी–ट्वान्टी विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई स्तब्ध पारेको केही दिनपछि उनको सन्यास घोषणा बाहिर आएको हो । सो खेलमा स्टेफनले ३० बलमा ३७ रनको योगदान गरेपछि नेदरल्यान्ड्सले १ सय ५८ रनको योगफल बनाएको थियो ।
३८ वर्षीय स्टेफनले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले २२ एकदिवसीय र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए । प्रिटोरियामा जन्मिएका उनले सन् २००६ मा आफ्नो क्रिकेट करियर सुरु गरेका थिए।
यसै वर्षको सुरुआतमा न्युजिल्यान्डविरुद्धको सिरिजपछिउनले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । उनी नेदरल्यान्ड्सका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा छन् ।