काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल 'टाइ' भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान सोमबार मधेशले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको बागमतीले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन जोडेपछि खेल 'टाइ' भएको हो ।
रोमान्चक खेलको अन्तिम ओभरमा एक रन जोड्न नसक्दा बागमतीले पहिलो जित निकाल्न असफल भएको हो । खेल 'टाइ' भएपछि मधेश र बागमतीले एक एक अंक बाडेका छन् ।
बागमतीविरुद्धको खेलमा एक अंक जोडेसँगै मधेशले सेमिफाइनलमा स्थान बनाएको छ । मधेश पहिलो पटक पीएम कपको सेमिफाइनलमा पुगेको हो ।
बागमतीका लागि पृथु बास्कोटाले ४० रन जोड्दा रित गौतमले ३२ रन बनाए ।
इशान पाण्डेले ३१ रन जोडे । सुर्य तामाङले २८ रन जोड्दा विवेक मगरले २५ रन बनाए ।
मधेशका राजेश यादव र प्रदिप पासवानले ३/३ विकेट लिए । रुपेश सिंहले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।
मधेशका लागि रोहन बिकले ६३ रनको अर्धशतकीय इनिङ खेले । सन्तोष कार्कीले २३ रन जोड्दा कप्तान हरिशंकर कार्कीले १३ रन बनाए ।
राजेश यादवले १६ रन बनाउँदा विशाल सुस्लिङले ११ तथा अनिल शाहले १० रन जोडे ।
बागमतीका नन्दन यादव र सुर्य तामाङले ३/३ विकेट लिए । रामनरेश गिरी र सुर्य तामाङको नाममा २/२ विकेट रह्यो ।
यस खेलपछि मधेशले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो ।
समूह 'बी' को मधेशले अन्तिम खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
पुलिस यस अघि नै अन्तिम चारमा पुगिसकेको छ ।
पुलिसले ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मधेश ५ अंक जोडेर दोस्रो स्थानमा छ ।
लुम्बिनी ४ अंक, प्रदेश एक २ अंक र बागमती प्रदेश १ अंक जोडेर बाहिरिएको छ ।