एजेन्सी । विश्वकप फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा डेनमार्क र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन् । डेनमार्क र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ५ : ४५ मा सुरु हुनेछ ।
समरा एरिनामा दुवै टोली मैदान उत्रदा ३ अंक जोड्ने लक्ष्यमा हुनेछन् । डेनमार्क अष्ट्रेलिया हराउदै दोस्रो चरणमा पुग्न चाहन्छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १–० ले स्तब्ध बनाएको थियो ।
यता अष्ट्रेलिया पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदै छन् । पहिलो खेलमा फ्रान्ससँग पराजित अष्ट्रेलियालाई दोस्रो चरणमा पुग्न जित्नै पर्ने दबाब रहेको छ ।
दुई टोली मैदान उत्रदा दुई खेलाडी केन्द्रविन्दुमा हुनेछन् । डेनमार्कका युसुफ पौलसेन र अष्ट्रेलियाका म्याथ्यु लेकी । यी दुवैको खेल प्रदर्शनले टिमको हार जितमा फरक आउने छ ।
प्लेयर्स टु वाच
युसुफ पौलसेन (डेनमार्क)
डेनमार्कसँग युरोपमा चम्किएका स्टार खेलाडीहरुको बाहुल्यता रहेको छ । तर, अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा डेनमार्कका मुख्य खेलाडी युसुफ पौलसेन हुनेछन् ।
अग्ला कदका पौलसेन बल पोजिसन राख्न र बल पास गर्न माहिर मानिन्छन् । अग्रपंक्ति सम्हाल्न सक्ने खुबी भएका पौलसेन ब्यवसायिक रुपमा जर्मन बुन्डेस लिगा क्लबमा खेल्छन् । आरबी लिपजीङका २४ बर्षिय पौलसेनले यो सिजन ३० खेल खेल्दै ४ गोल गरेका थिए । विश्वकप छनोट अन्तर्गत ९ खेल खेलेका पौलसेनले एक गोल गर्न भ्याएका थिए ।
रुस विश्वकपमा पेरुलाई १ – ० ले पराजित गर्दा पौलसेन पुरै समय मैदानमा रहेका थिए । पहिलो खेलमा उनले गरेको प्रदर्शन हेर्दा दोस्रो खेलमा पनि पौलसेन चम्कने पक्का जस्तै छ । पौलसेन चम्किए अष्ट्रेलियन डिफेन्डर र किपरलाई सधै व्यस्त बनाउने छन् ।
म्याथ्यु लेकी (अष्ट्रेलिया)
रुस विश्वकपमा डेनमार्कसँग मैदान उत्रदा अष्ट्रेलियाका मुख्य हतियार म्याथ्यु लेकी हुनेछन् । पहिलो खेलमा फ्रान्ससँग पराजित हुँदा पुरै समय खेलेका लेकी डेनमार्कविरुद्ध पनि उत्कृष्ट खेल्नेमा अष्ट्रेलियन टिम विश्वस्त रहेका छन् ।
दायाँ र बाँया दुवै खुट्टाले बल पकडमा राख्न माहिर लेकी निकै अग्ला कदका छन् । जसको फाइदा उनले उठाउने छन् । जर्मन लिगबाट व्यवसायिक खेल खेल्दै आएका २६ बर्षीय यी मिडफिल्डरले लिगको २६ खेलमा ५ गोल गरेका थिए । जर्मन क्लब हेर्थ बिएससीका लेकीले युरोपा लिगको दुई खेलमा १ गोल गरेका छन् ।
विश्वकप छनोटमा भने लेकीले एक मात्र खेल खेल्न पाए । तर, अष्ट्रेलियन प्रशिक्षको मन जित्दै लेकी रुसमा यात्रामा रहेका हुन् । उनको प्ले मेकर भूमिकामा आज अष्ट्रेलियाले डेनमार्कलाई स्तब्ध बनाउन सक्नेछन् ।