एजेन्सी । एकाटेरीङवर्ग एरिनामा पेरुविरुद्ध मैदान उत्रदा फ्रान्सको लक्ष्य हुनेछ, नकआउट चरण यात्रा तय गर्ने । पेरुको लक्ष्य पहिलो जित निकाल्दै दोस्रो चरणको सम्भावना जीवित राख्ने ।
दुवै टोली आफ्नो लक्ष्यमा अडिक रहने छ । यस्तोमा, खेल कसको पक्षमा जान्छ ? त्यो हेर्न बाँकी छ तर दुई टोलीबीचको खेल निकै रोमान्चक बन्नेमा पक्का छ ।
फ्रान्स र पेरुबीचको खेल समूह चरणको खेलको रुपमा मात्र रहने छैन । सम्भवत, यो खेलपछि समूह 'सी' को नकआउट चरण पुग्ने टोलीको तय हुनेछ । तर, अष्ट्रेलिया र डेनमार्कबीचको पहिलो खेलले पनि समीकरणमा फेरबदल ल्याउन सक्छ ।
पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २ – १ को संघर्षपूर्ण तरिकाले हराएको थियो । तर, उक्त खेलमा पाएको ३ अंकले फ्रान्सलाई आत्मविश्वासी बनाउने छ । पेरुलाई हराएर फ्रान्स समूह चरण पार गर्न चाहन्छ । हार र बराबरीले फ्रान्सलाई अर्को खेलको नतिजा कुर्नु पर्ने हुन्छ । किनकी यो समूहमा डेनमार्कको पनि ३ अंक छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई नै स्तब्ध बनाएको थियो । फ्रान्सको खेल अघि डेनमार्कले अष्ट्रेलियासँग खेल्ने छ ।
यता, पेरुलाई जित बाहेक अन्य बिकल्प छैन । पेरुलाई दोस्रो चरण यात्रा गर्न फ्रान्सलाई हराउनु पर्नेछ । डेनमार्कसँगको १ – ० को हारले पेरुलाई गाह्रो बनाएको छ । फ्रान्ससँग पराजित भएमा पेरु अन्तिम खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिन पनि सक्नेछ ।
त्यसैले पेरु निकै दबाबमा खेल्नेछ । तर, पेरुका प्रशिक्षक रिकार्डो ग्रेसियाले फ्रान्सले आफ्नो खेललाई विचलित गर्ने नसक्ने बताउछन् । 'फ्रान्ससँग आफ्नै पहिचान छ । उनीहरु विश्वकप जित्न सक्छन । प्रत्येक टोलीलाई हराउन सक्ने क्षमता छ,' प्रशिक्षक ग्रेसियाले भने, 'तर, हामी एक कठिन प्रतिद्वन्द्वी हौ । फ्रंले हामीलाई विचलित गर्न सक्दैन ।'
पेरुविरुद्ध मैदान उत्रदा फ्रान्सलाई मुख्य त् गोल स्कोरिङमा समस्या आउने छ । जुन पहिलो खेलमा देखिएको थियो । बल पोजिसनमा पकड जमीए पनि फ्रान्स गोल गर्नमा चुकेको थियो । आज फ्रान्सले त्यसलाई सुधार्न प्रयास गर्नेछ । गोल स्कोरिङमा सुधार गर्न नसके पेरुविरुद्ध जित निकाल्न फ्रान्सलाई हम्मे हम्मे पर्नेछ ।
यो खेलबाट फ्रान्सका गोल किपर तथा कप्तान ह्युगो लोरिसको राष्ट्रिय टोलीका लागि सयौं खेल हुनेछ । कप्तानको रुपमा ७६ औं खेल हुनेछ । उनको प्रदर्शनले पेरुका फरवार्डलाई गोल गर्न मुश्किल देखिन्छ । उनले आफुले खेलमा शतप्रतिशत खेल्ने बताईसकेका छन् ।
दुई टोली विश्वकपमा अपरिचित टोली समेत हुन् । आधुनिक विश्वकपमा दुई टोलीले भिडेका छैनन् । सन् १९८२ भएको मैत्रीपूर्ण खेलमा पेरुले फ्रान्सलाई १ – ० ले हराएको थियो । तर, विश्वकपमा फ्रान्स सन् १९७८ बाट दक्षिण अमेरिकी मुलुकसँग हारेको इतिहास छैन ।